९६ क्यारेटको भन्सार, १४४ क्यारेट माछा भित्र्याउँदै गर्दा सुरज फिसको मिनी ट्रक प्रहरी नियन्त्रणमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–नगवास्थित सुरज फिस सप्लायर्सको माछा बोकेको मिनी ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। भन्सारमा ९६ क्यारेट माछाको मात्रै प्रज्ञापन गराएर १४४ क्यारेट माछा भित्र्याउन खोजिएको अवस्थामा प्रहरीले गाडी नियन्त्रणमा लिएको स्रोतको दाबी छ।
प्रारम्भिक जानकारीअनुसार, वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी माछा लोड गरेर नगवातर्फ आउँदै गरेको प्रदेश २००–१–ख–७०७४ नम्बरको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार, एकपटक मात्रै भन्सार प्रक्रिया पूरा गरी दुईपटकको परिमाण बराबर माछा भित्र्याउने प्रयास गरिएको थियो। ९६ क्यारेटको भन्सार गरेर १४४ क्यारेट माछा लैजाँदै गरेको अवस्थामा गाडी नियन्त्रणमा परेको बताइएको छ।
गाडी नियन्त्रणमा लिएपछि माछासहितको मिनी ट्रक छुटाउन प्रहरीमाथि प्रभाव र दबाब प्रयोग गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ। भन्सार छलीको आशंकामा नियन्त्रणमा लिइएको गाडीलाई अनुसन्धान प्रक्रिया पूरा नगरी छुटाउन खोजिएको हो भने यसले अवैध कारोबारमा संलग्नहरूको पहुँच र प्रभावबारे गम्भीर प्रश्न खडा गर्छ।
नेपालमा माछा उत्पादन बढ्दै गएर आत्मनिर्भरताको दिशामा अघि बढिरहेको अवस्थामा भारतीय माछाको अवैध आयातले स्वदेशी माछापालक किसानलाई प्रत्यक्ष असर पारिरहेको गुनासो बढ्दै गएको छ। सीमावर्ती क्षेत्रबाट प्रज्ञापनपत्रमा उल्लेख भएकोभन्दा बढी माछा भित्र्याउने तथा भन्सार छली गरेर कारोबार गर्ने प्रवृत्तिले नेपाली किसानको उत्पादनले उचित बजार र मूल्य पाउन नसकेको उनीहरूको गुनासो छ।
अवैध रूपमा भारतीय माछा भित्र्याउने कारोबारमा संलग्न केही व्यापारीले प्रभाव र दबाबका आधारमा आफ्नो धन्दा निर्वाध सञ्चालन गरिरहेको आरोपसमेत लाग्दै आएको छ। यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने निकायमाथि नै दबाब सिर्जना गर्ने प्रयास भएको हो भने त्यसले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणको प्रभावकारितामाथि थप प्रश्न उठाउनेछ।
नियन्त्रणमा लिइएको माछाको वास्तविक परिमाण, भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको विवरण र स्रोतले दाबी गरेको ९६ तथा १४४ क्यारेटको अन्तरबारे जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ। घटनाको अनुसन्धानबाट भन्सार छली भएको हो वा होइन भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।
नियन्त्रणमा लिइएको माछा सहितको उक्त गाडी वडा प्रहरी श्रीपुरमा राखिएको र भन्सार बुझाउन बाँकी रहेको बताइएको छ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।