वीरगञ्ज । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरी कर्मचारी नै तस्कर र अवैध कारोबारीसँगको उठबसमा सक्रिय रहेको आरोप सार्वजनिक हुन थालेपछि बाराको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। जिल्लाका विभिन्न सीमा नाकाबाट खुलेआम तस्करी भइरहेको स्थानीयको दाबी छ भने त्यसमा सादा पोसाकमा परिचालित प्रहरी कर्मचारीको भूमिकालाई लिएर समेत शंका व्यक्त हुन थालेको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाराले सीमा नाकामा निगरानी कडा पारिएको र तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको बताउँदै आए पनि छतवा, मटिअर्वा, कचोर्वा र कवही दरबारलगायतका नाकाबाट अवैध सामानको ओसारपसार नरोकिएको आरोप छ। विभिन्न समयमा सार्वजनिक भएका तस्बिर तथा भिडियोले समेत प्रहरीको दाबी र सीमा क्षेत्रको वास्तविक अवस्थाबीच तालमेल नरहेको देखाउने स्थानीयको भनाइ छ।

विज्ञापन

यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत घुमुवा प्रहरीको जिम्मेवारीमा रहेका प्रहरी जवान फुलसरिफ मिया आलम र प्रहरी हवल्दार वीरसम्सेर पटेलको नाम चर्चामा आएको छ। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिको सूचना संकलन गर्ने, अवैध कारोबारको सञ्जाल पहिचान गर्ने र अपराध हुनुअघि नै नियन्त्रणका लागि पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका उनीहरूमाथि नै तस्कर तथा अवैध कारोबारीसँग समन्वय गर्ने र आर्थिक लाभ लिने गरेको आरोप लाग्नुले प्रहरीको आन्तरिक निगरानी प्रणालीमाथि समेत प्रश्न खडा गरेको छ।

विज्ञापन

स्थानीय स्तरमा उठेका आरोपअनुसार सीमा क्षेत्रबाट कपडा, चप्पल, काजु, कस्मेटिक सामग्रीलगायतका वस्तुको अवैध ओसारपसार नियमितजस्तै भइरहेको छ। कारोबारको प्रकृति र परिमाण हेरेर हजारदेखि लाखौँ रुपैयाँसम्म नजराना बुझाउने गरिएको दाबीसमेत गरिएको छ। भोला बटर (ओमप्रकाश र निरज), सदाम कपडा, प्रेम काजु, कमलेश झुल, सियाराम, अरुण कपडा, अरमान चप्पल, खेना कपडा, अरविन्द कस्मेटिक र मास्टर कपडालगायतका नामसमेत कथित अवैध कारोबारसँग जोडिएर आएका छन्। सियाराममार्फत अजयको समूहले लाखौँ रुपैयाँको अवैध कारोबार गर्दै आएको बताइन्छ। प्रहरी र नियमक निकायलाई नमिलाई ठूलो परिमाणको अवैध कारोबार गर्न सकिने अवस्था नरहेको भन्दै उनीहरूले मोटो रकम बुझाउने गरेको स्रोतहरूको दाबी छ।

विज्ञापन

प्रहरी जवान गद्दीको विगतको कार्यक्षेत्र र प्रहरी अधिकारीसँगको निकटतालाई लिएर पनि चर्चा भइरहेको छ। उनी मुसहरवा नाकामा कार्यरत रहँदा त्यहाँको इन्चार्जको विश्वासपात्रका रूपमा परिचित रहेको र पछि जिल्ला प्रहरी कार्यालय बारामा आएपछि पनि सँगै राखिएको बताइन्छ। हाल आलम र हवल्दार पटेल दुवै घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको चर्चा छ। उनीहरूलाई कुन आधारमा, कस्तो कार्यक्षेत्र र जिम्मेवारी दिएर परिचालन गरिएको छ भन्ने विषयमा पनि स्पष्टता आवश्यक देखिएको छ।

विज्ञापन

सीमा क्षेत्रमा हुने अवैध कारोबार कपडा, चप्पल, काजु र कस्मेटिक सामग्रीमा मात्रै सीमित नरहेको आरोप छ। ट्रान्सपोर्ट, किराना सामान, माछा तथा फलफूलको ओसारपसारमा समेत अनियमितता हुने गरेको बताइन्छ। यसबाहेक नौतन क्षेत्रमा जुवातास सञ्चालन भइरहेको विषयले पनि प्रहरीको निगरानी र कार्यसम्पादनमाथि प्रश्न उठाएको छ।

घुमुवा वा सादा पोसाकमा परिचालित प्रहरीको मुख्य जिम्मेवारी अपराधी र अवैध कारोबारमा संलग्न सञ्जालको सूचना संकलन गर्नु, सम्भावित आपराधिक गतिविधिबारे अग्रिम जानकारी लिनु तथा अपराध हुनुअघि नै त्यसलाई रोक्न सुरक्षा संयन्त्रलाई सक्रिय बनाउनु हो। तर, यही जिम्मेवारीमा रहेका कर्मचारी नै तस्कर तथा अवैध कारोबारीसँगको कथित साँठगाँठ र आर्थिक लेनदेनमा जोडिन थाले भने त्यसको प्रत्यक्ष असर सीमा सुरक्षादेखि समग्र शान्ति सुरक्षासम्म पर्न सक्छ।

प्रहरी कर्मचारीको संरक्षण वा मिलेमतोमा अवैध कारोबार सञ्चालन हुने अवस्था सिर्जना भएको हो भने त्यसले तस्करीलाई मात्र प्रोत्साहन गर्दैन, अपराध नियन्त्रण गर्ने राज्यको संयन्त्रमाथि नै अविश्वास बढाउँछ। बारा जिल्लामा पछिल्लो समय विभिन्न प्रकृतिका आपराधिक गतिविधि बढिरहेको विषयलाई समेत सुरक्षा निकायले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने देखिन्छ। उपलब्ध प्रहरी तथ्यांक र अपराधका घटनाको तुलनात्मक विश्लेषणबाट यसको वास्तविक अवस्था स्पष्ट पार्नु आवश्यक छ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको सुशासन अभियानले राज्यका निकायमा पारदर्शिता, जवाफदेहिता र कानुनको निष्पक्ष कार्यान्वयनलाई प्राथमिकतामा राखेको सन्दर्भमा प्रहरी कर्मचारीमाथि नै तस्करीलाई संरक्षण दिएको आरोप लाग्नु सामान्य विषय होइन। सरकारको सुशासन अभियान सफल हुन प्रहरी प्रशासनभित्रै रहेका सम्भावित बेथिति र आर्थिक चलखेलमाथि निर्मम छानबिन आवश्यक छ। वर्दीको आडमा अवैध कारोबारलाई सहजीकरण गर्ने प्रवृत्ति रहे त्यसले सरकारको सुशासन अभियानलाई समेत चुनौती दिने निश्चित छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले सीमा नाकामा कडा निगरानी राखिएको र तस्करी नियन्त्रणका लागि अभियान सञ्चालन भइरहेको दाबी गर्दै आएका छन्। तर, घुमुवा प्रहरीकै नाम जोडिएर तस्करी र नजराना असुलीका आरोप सार्वजनिक भइरहँदा एसपी कुँवरले आफ्नै मातहतका कर्मचारीको कार्यसम्पादन, सम्पर्क सञ्जाल र परिचालनको प्रभावकारिताबारे छानबिन गराउनुपर्ने देखिएको छ।

सीमा नाकामा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी संयन्त्रमाथि नै तस्करीसँग साँठगाँठ गरेको आरोप लाग्नुले गम्भीर छानबिनको माग गरेको छ। आरोपित प्रहरी कर्मचारीको सम्पत्ति, सम्पर्क, कार्यक्षेत्र र सम्भावित आर्थिक लेनदेनको निष्पक्ष अनुसन्धान गर्ने हो भने वास्तविकता बाहिर आउन सक्छ। यस विषयमा बुझ्न प्रहरी जवान आलमलाई टेलिफ़ोन सम्पर्क गर्दा उनले फोन उठाएनन्,। अब जिल्ला प्रहरी कार्यालय बाराले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुका साथै आरोपित प्रहरी कर्मचारी र कारोबारसँग नाम जोडिएका व्यक्तिहरूले पनि आफ्नो पक्ष स्पष्ट पार्न आवश्यक छ।

स्रोत: WordPress