वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको कार्यशैलीलाई लिएर विवाद चुलिँदै गएको छ। कार्यालयमा नियमित उपस्थित नभई निवासबाटै महानगरपालिकाको कामकाज सञ्चालन गर्ने गरेको र भुक्तानी प्रक्रियामा पक्षपात तथा अनियमितता भएको आरोप उनीमाथि लागेको छ।

विज्ञापन

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोहराले कार्यालयको नियमित प्रशासनिक कामकाजभन्दा आफ्नो निवासबाटै आफू निकटका कर्मचारी परिचालन गरी भुक्तानीसम्बन्धी निर्णय र काम अघि बढाउने गरेको आरोप सार्वजनिक भएको हो। लेखापालद्वय रामकुमार कुशवाहा र रूपनारायण पटेल तथा योजना अधिकृत अवधेश कुशवाहालगायत कर्मचारी बोहराको निवासमै पुगेर भुक्तानी प्रक्रियामा संलग्न हुने गरेको बताइएको छ। कमिसन बुझाउने पक्षको भुक्तानीलाई प्राथमिकता दिइने गरेको आरोपसमेत लागेको छ।

विज्ञापन

अर्कोतर्फ, लामो समयदेखि भुक्तानी नपाएका ठेकेदार तथा सप्लायर्सहरू आफ्नो रकम प्राप्त गर्न सम्बन्धित हाकिम र लेखापालको खोजीमा भौँतारिनुपरेको गुनासो गर्दै आएका छन्। सार्वजनिक कार्यालयको कामकाज पारदर्शी र संस्थागत प्रक्रियाबाट हुनुपर्नेमा कर्मचारीलाई निवासमै बोलाएर भुक्तानीसम्बन्धी काम गराउने प्रवृत्तिले महानगरपालिकाको प्रशासनिक प्रणालीमाथि नै प्रश्न उठाएको छ।

विज्ञापन

यसैबीच, बिहीबार राति करिब ११ बजे आदर्शनगर चोकस्थित लक्ष्मी बैंक रहेको भवनमा प्रमुख प्रशासकीय अधिकृत बोहरा र सप्लायर्स निराजन अधिकारीसहितको टोलीबीच विवाद भएको घटना सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार बोहरा आफ्नो टोलीसहित उक्त भवनमा कबाब र ह्विस्की सेवन गर्दै कागजातसम्बन्धी काममा व्यस्त रहेको अवस्थामा सप्लायर्सको टोली त्यहाँ पुगेको थियो। त्यसपछि सुरु भएको भनाभनले उग्र रूप लिँदा हातपातसमेत भएको आरोप छ।

विज्ञापन

उक्त घटनामा रामप्रसाद कुशवाहामाथि मुक्का प्रहार भएको र बोहरामाथि पनि धक्कामुक्की भएको बताइएको छ। तर, घटनामा कसले कसैमाथि आक्रमण गर्‍यो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक भएको छैन।

विज्ञापन

घटनापछि प्रमुख प्रशासकीय अधिकृत बोहराले तत्काल प्रहरी वा अन्य सुरक्षा निकायलाई खबर गरी कानुनी प्रक्रिया अघि बढाएको देखिएको छैन। बरु उनी आफ्नो टोलीसहित सोही रात सिमरातर्फ गएको र त्यहाँ केही समय बसेपछि शुक्रबार काठमाडौं पुगेको बताइएको छ।

महानगरपालिकाको प्रमुख प्रशासनिक जिम्मेवारी सम्हालेका व्यक्तिमाथि साँच्चिकै हातपात भएको हो भने उनले सुरक्षा निकायलाई तत्काल खबर गरी दोषीमाथि कानुनी कारबाहीको माग किन गरेनन्? सार्वजनिक पदमा बसेको व्यक्तिले आफूमाथि भएको भनिएको आक्रमणको प्रतिकार कानुनी बाटोबाट गर्नुपर्ने हो, न कि घटनास्थल छाडेर भाग्दै हिँड्ने। सुरक्षा निकायको सहयोग लिनुको सट्टा सिमरा हुँदै काठमाडौं पुग्ने व्यवहारले घटनाको वास्तविकतामाथि थप शंका जन्माएको छ। यसले कानुनी शासनभन्दा बाहिर व्यक्तिगत शक्ति र दबाबको भरमा विवाद समाधान गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने जोखिमसमेत बढाउँछ। यद्यपि, बोहरा किन त्यसरी बाहिरिए भन्नेबारे उनको पक्षको स्पष्टीकरण आउन बाँकी छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष सञ्जु छतकुलीले शुक्रबार लेखापालहरू कार्यालयमा उपस्थित नभएको र बिहीबार राति प्रमुख प्रशासकीय अधिकृतको निवासमा झगडा भएको सूचना आफूले राति ११ बजेर ५३ मिनेटमा प्राप्त गरेको बताएका छन्।

त्यस्तै, वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले बोहराको मनोमानी कार्यशैलीका कारण नगरवासी, ठेकेदार तथा तल्लो तहका कर्मचारीहरूले समस्या भोग्नुपरेको बताएका छन्। बोहरा अब मंसिर १२ गते मात्र कार्यालय आउने हल्ला आफूले सुनेको उल्लेख गर्दै उनले बिहीबार राति प्रमुख प्रशासकीय अधिकृतको टोली र सप्लायर्सबीच झगडा भएको विषय पनि आफूले जानकारी पाएको बताए।

महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यालय नियमित नगरेको, भुक्तानीमा पक्षपात गरेको र रातको समयमा निवास तथा अन्य स्थानबाट प्रशासनिक काम सञ्चालन गरेको जस्ता आरोप लाग्नु सामान्य विषय होइन। त्यसमाथि विवाद र हातपातको घटना भएको भनिए पनि सुरक्षा निकायमा उजुरी वा आधिकारिक जानकारी नदिई स्थान परिवर्तन गरेको दाबीले उनको भूमिकालाई थप प्रश्नको घेरामा पारेको छ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको धारणा लिन पटक–पटक टेलिफोन सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन्। घटनाबारे उनको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। सार्वजनिक पदमा बसेको व्यक्तिले आफूमाथि लागेका आरोप र घटनाबारे स्पष्ट जवाफ दिनु तथा विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउनु आवश्यक देखिन्छ।

स्रोत: WordPress