काठमाडौँ  २२ कात्तिक ।

विज्ञापन

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतका विभिन्न खेलहरू आगामी मङ्सिर ८ गतेदेखि सुरु हुने भएका छन्। प्राविधिक समितिबाट खेल तालिका स्वीकृत भएसँगै पहिलो चरणमा छ वटा खेलको प्रतिस्पर्धा सुरु हुन लागेको हो।

विज्ञापन

मङ्सिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सुरु हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेत रङ्गशालामा हुनेछ भने समापन समारोह मङ्सिर २७ गतेका लागि तय गरिएको छ।

विज्ञापन

कुल ३२ खेल समावेश गरिएको प्रतियोगिताका २३ वटा खेल आयोजक प्रदेशको राजधानी सुर्खेतमै सञ्चालन हुनेछन्। सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सञ्चालन गरिनेछ।

विज्ञापन

त्यस्तै, अन्य खेलहरू विभिन्न जिल्लामा विभाजन गरिएको छ:

विज्ञापन
  • बर्दिया: टेनिस र खो-खो

  • सल्यान: जुडो र कुस्ती

  • पश्चिम रुकुम: शारीरिक सुगठन

  • दैलेख: आईटीएफ तेक्वान्दो

  • कालिकोट: बुद्धिचाल

  • नेपालगञ्ज (बाँके): पौडी र सुटिङ

लुम्बिनी प्रदेशका दुई जिल्ला (बर्दिया र बाँके) मा समेत केही खेल सञ्चालन गर्न लागिए पनि कर्णालीकै हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पा जिल्लामा भने कुनै पनि खेल समावेश गरिएको छैन।