काठमाडौं । महिलाको निजी भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिलाई देखाउने तथा सेयर गर्ने गरेको आरोपमा कालीकोटका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालीकोटको साविक जुविथा गाविस–३, हाल तिलागुफा नगरपालिका–३ का ३७ वर्षीय खगेन्द्रप्रसाद न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार न्यौपानेलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा काठमाडौं महानगरपालिका–३, धनेश्वरबाट पक्राउ गरिएको हो ।उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोट ल्याइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार न्यौपानेमाथि एक महिलाको निजी भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिलाई देखाउने र सेयर गर्ने गरेको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, उक्त भिडियो विभिन्न व्यक्तिका डिजिटल उपकरण तथा सामाजिक सञ्जालमा समेत हुन सक्ने भन्दै प्रहरीले त्यसलाई सेयर, डाउनलोड वा प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।पीडितको गोपनीयता, मर्यादा र सम्मानमा असर पर्ने गरी भिडियो वा त्यससँग सम्बन्धित सामग्री फैलाउने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय कालीकोटले चेतावनी दिएको छ ।प्रहरीले पीडितको गोपनीयताको सम्मान गर्दै भिडियो वा त्यससँग सम्बन्धित कुनै पनि सामग्री सुरक्षित राख्ने, डाउनलोड गर्ने तथा अरूलाई पठाउने कार्य नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।