बारा । बाराको फेटा गाउँपालिकामा अधुरो अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक १६ वर्षीय बालक गम्भीर घाइते भएका छन्।
फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरा अजित पासवानको पेटमा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाका क्रममा प्रहरीले गरेको लाठी प्रहारबाट अन्य केही व्यक्ति पनि घाइते भएका छन्।
स्थानीयका अनुसार गाउँपालिकामा निर्माणाधीन अस्पतालको काम पूरा नहुँदै उद्घाटन गर्न खोजिएपछि स्थानीयले त्यसको विरोध गरेका थिए। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको एकलौटी निर्णयका कारण विवाद उत्पन्न भएको स्थानीयको आरोप छ।
विरोध प्रदर्शनले उग्र रूप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा प्रदर्शनकारीले सातवटा मोटरसाइकलमा आगजनी गरेको बताइएको छ। स्थिति तनावपूर्ण बनेपछि नियन्त्रणमा लिन प्रहरीलाई कठिनाइ भएको छ।
घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षाका लागि पर्सा जिल्लाबाट समेत प्रहरी टोली परिचालन गरिएको जानकारी प्राप्त भएको छ।
गोली लागेर बालक गम्भीर घाइते भएपछि स्थानीय थप आक्रोशित बनेका छन्। दोषी प्रहरीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन्।
घटनामा गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो, गोली चलाउने प्रहरीको पहिचान तथा घाइते बालकको पछिल्लो अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी छ। घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।