वीरगन्ज। व्यापारिक कारोबारको बहानामा बैंकका कर्मचारीलाई विश्वासमा लिएर लाखौँ रुपैयाँ उठाएको र रकम फिर्ता माग्दा उल्टै धम्की दिएको आरोपमा बारा र रौतहटका एक दम्पती विवादमा तानिएका छन्।
रौतहटको महागढीमाई नगरपालिका-बरियारपुर घर भई हाल बाराको कोल्हवीमा ‘कुनाल एन्ड मुनाल इन्टरप्राइजेज’ नामको पेट्रोल पम्प सञ्चालन गर्दै आएका राकेश सहनी र रुपाकुमारीमाथि बैंक कर्मचारी तथा उनका चिनजानका व्यक्तिहरूबाट रकम लिएर फिर्ता नगरेको आरोप लागेको हो।
पीडित पक्षका अनुसार, नबिल बैंकमा कार्यरत कर्मचारी नीरज गुप्तासँग बैंकमै भएको पुरानो चिनजानलाई आधार बनाएर सहनीले पेट्रोल पम्प खरिदको योजना सुनाएका थिए। पम्प खरिदका लागि बैंकबाट ५५ लाख रुपैयाँ कर्जा प्रक्रिया अघि बढेको र कर्जा प्राप्त हुन केही समय लाग्ने भन्दै उनले तत्कालका लागि बजारबाट रकम जुटाउन गुप्तासँग सहयोग मागेका थिए।
सहनीको विश्वासमा परेका गुप्ताले आफ्ना साथीभाइ तथा शुभचिन्तकहरूसँग समन्वय गरेर रकम जुटाउन सहयोग गरेको पीडित रोहित वर्णवालले बताएका छन्। उनका अनुसार, २०८१ जेठ २३ गते ‘गुड फर पेमेन्ट’मार्फत ३९ लाख रुपैयाँ कुनाल एन्ड मुनाल इन्टरप्राइजेजका तत्कालीन सञ्चालक रामपुकार सहनीको खातामा जम्मा गरिएको थियो। रकम लिएबापत बैंकको चेक र ब्याजसमेत उपलब्ध गराउने सहमति भएको पीडित पक्षको दाबी छ।
तर, बैंकबाट कर्जा स्वीकृत भई रकम खातामा आइसकेपछि आफ्नो रकम फिर्ता लिन चेक लिएर बैंक पुगेका पीडितहरू त्यतिबेला समस्यामा परे, जतिबेला चेक जारी गर्ने व्यक्तिको खाता बन्द भइसकेको र हस्ताक्षरसमेत परिवर्तन भएको जानकारी पाए।
त्यसपछि रकमबारे सहनीसँग सोधपुछ गर्दा उनले आफूविरुद्ध अन्य मुद्दासमेत रहेको र त्यसलाई मिलाउनुपर्ने बहाना बनाएको पीडितहरूको भनाइ छ। यही क्रममा मुद्दा मिलापत्र तथा रकम निकासाको प्रक्रिया अघि बढाउने भन्दै पटक–पटक थप तीन लाख र दुई लाख रुपैयाँसमेत लिइएको उनीहरूको आरोप छ।
सावाँ र ब्याज फिर्ता माग्न थालेपछि भने सहनी दम्पतीले उल्टै झूटा मुद्दामा फसाइदिने, जागिर खाइदिने तथा सामाजिक रूपमा बदनाम गराउने धम्की दिएको पीडित पक्षको गुनासो छ।
आफूलाई व्यापारिक कारोबारको आवरणमा सुनियोजित आर्थिक जालमा पारिएको र निरन्तर दबाब तथा धम्की खेप्नुपरेको भन्दै बैंक कर्मचारी गुप्ताले न्याय र सुरक्षाका लागि सरकारी निकाय गुहारेका छन्। उनले घटनाको निष्पक्ष छानबिन तथा आफ्नो सुरक्षाको माग गर्दै २०८३ साउन ७ गते गृह मन्त्रालयमा चलानी नम्बर ६२७ मार्फत औपचारिक निवेदन दर्ता गराएको बताइएको छ।
पीडित पक्षले आफूहरूसँग भएको आर्थिक कारोबार, चेक तथा अन्य प्रमाणका आधारमा घटनाको गहिरो अनुसन्धान गरी दोषी देखिने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्। व्यापारिक सम्बन्ध र व्यक्तिगत विश्वासलाई नै ठगीको माध्यम बनाइएको उनीहरूको आरोप छ।
यद्यपि, घटनामा लगाइएका आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया तथा आधिकारिक अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी छ। आरोप पुष्टि भएमा सम्बन्धित व्यक्तिहरू कानुनी कारबाहीको भागीदार हुन सक्नेछन्।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।