काठमाडौं। जग्गासम्बन्धी लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेर लिएको प्रकरणमा भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरका दुई भूमि प्रशासन अधिकृतसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विज्ञापन

आयोगले शुक्रबार भूमि प्रशासन कार्यालय लगनखेलका भूमि प्रशासन अधिकृत अर्जुन देव योङ्या र नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोखरेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदारहरू नरेन्द्रबहादुर बस्नेत र भक्तबहादुर राना तथा सहायक कम्प्युटर अपरेटर इन्दु दाहालविरुद्ध मुद्दा दायर गरेको हो। यसैगरी, ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्का र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर तथा समिर कटवाललाई पनि प्रतिवादी बनाइएको छ।

विज्ञापन

अख्तियारका अनुसार जग्गाको बकसपत्र तथा अंश बुझेको भरपाईसम्बन्धी लिखत पारित गराउने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतोमा तीन लाख रुपैयाँ घुस मागिएको थियो। घुस लिने गरेको सूचनाका आधारमा आयोगको टोलीले छापा मार्दा नायब सुब्बा विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

विज्ञापन

अनुसन्धानका क्रममा सम्बन्धित जग्गाको पुनः नापी भइसकेपछि नापी कार्यालयबाट प्राप्त जग्गाधनी स्रेस्ता तथा विवरणअनुसार अभिलेख अद्यावधिक गर्नुपर्नेमा त्यसो नगरी पुरानै विवरणका आधारमा लिखत पारित गराइएको अख्तियारको ठहर छ। आयोगका अनुसार पुनः नापीबाट प्राप्त जग्गासम्बन्धी विवरण लुकाउने, सरकारी अभिलेखमा हेरफेर तथा थपघट गर्ने र गलत लिखत तयार गरी पुरानै जग्गा विवरणका आधारमा अंश बुझेको भरपाई पारित गराएर स्रेस्ता पुर्जा तयार गरिएको थियो।

विज्ञापन

यसरी सरकारी अभिलेखमा अनियमितता गरी सेवाग्राहीबाट लिएको तीन लाख रुपैयाँ आपसमा बाँडफाँट गर्ने नियत राखिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

विज्ञापन

आयोगले सरकारी कर्मचारीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार तीन लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ। साथै, दफा ९ र ११ अन्तर्गतका कसुरमा समेत सजाय माग गरिएको छ।

त्यस्तै, लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (२) अनुसार मुद्दा दायर गरिएको छ। उनीहरूलाई मुख्य कसुरदारसरह सजायको मागदाबीसमेत गरिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार आयोगले शुक्रबार नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

स्रोत: WordPress