काठमाडौं । बाइनान्स एपमार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्राप्त विशेष सूचनाका आधारमा यादवको गतिविधिमाथि निगरानी थालेको थियो। प्राविधिक विश्लेषणका क्रममा उनले बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रति अमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरअनुसार उक्त कारोबारको मूल्य नेपाली रुपैयाँमा दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ हुन्छ। प्रहरीका अनुसार यादवले क्रिप्टोकरेन्सीको कारोबारसँगै अनलाइन सट्टेबाजी (बेटिङ) समेत सञ्चालन गर्ने गरेको सूचना प्राप्त भएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा वा सट्टेबाजी गर्न नहुने कसुर तथा दफा २६२ (क) को उपदफा १ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बिहीबार जानकारी दिएका छन्।
स्रोत: WordPress
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।