काठमाडौँ, २३ कात्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजसामु १८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको सम्मानजनक योगफल तयार पारेको हो।
सुरुवाती झट्का र रासिदको सम्हालिएको पारी काठमाडौँको सुरुआत भने निराशाजनक रह्यो। टोलीले ३.५ ओभरभित्रै मात्र १३ रन जोड्दा आफ्ना दुवै ओपनरलाई गुमाएको थियो। अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर ६ बलमा १ रन मात्र बनाएर आउट भए भने अर्का ओपनर साहिल पटेल ८ रनमा पवेलियन फर्किए।
त्यसपछि टोलीको इनिङ्स सम्हाल्ने जिम्मा रासिद खानले लिए। उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ६२ रनको महत्त्वपूर्ण साझेदारी गरे। बोसिस्टोले २२ बलमा २७ रनको योगदान दिए। बोसिस्टो आउट भएपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को उपयोगी साझेदारी गरे। अराचिगेले २० बलमा ३ चौका र २ छक्काको मद्दतमा ३३ रन जोडे।
रासिदले ३० बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले। चालु एनपीएलमा रासिदको यो दोस्रो अर्धशतक हो; यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रन बनाएका थिए। अर्धशतक पूरा गरेलगत्तै उनी सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याच आउट हुन पुगे।
अन्त्यमा कप्तान करणको आक्रामक फिनिसिङ अन्तिम ओभरहरूमा कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै मात्र ७ बलमा ३ छक्कासहित २० रनको आक्रामक योगदान दिए। यस्तै जहानदाद खान र आदिल आलमले समान ९-९ रन बनाए भने सन्तोष यादवले २ बलमा १ छक्का हान्दै अविजित ८ रन जोडे।
चितवनको कसिलो बलिङ चितवन राइनोजका लागि रिजन ढकालले उत्कृष्ट र कसिलो बलिङ गर्दै ४ ओभरमा १४ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, कप्तान सिकन्दर राजाले १९ रन दिएर २ विकेट तथा कमल सिंह ऐरीले २५ रन खर्चेर २ विकेट हात पारे। डान मोस्लीको नाममा १ विकेट रह्यो।
चितवनले अब केही बेरमा १८१ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।