सर्लाही, २३ कात्तिक ।

विज्ञापन

सर्लाहीको चुरेवर्ती क्षेत्रका बासिन्दाले वर्षौँदेखि खानेपानीको गम्भीर समस्या भोग्दै आएका छन्। जिल्लाका विभिन्न चुरेभेगमा खानेपानीको दिगो प्रबन्ध नहुँदा स्थानीयहरू अझै पनि खोला, कुवा र जरुवाको भर पर्नुपर्ने बाध्यता छ।

विज्ञापन

चुरे क्षेत्रका घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला र ढुङ्ग्रेखोलालगायतका बस्तीहरूमा खानेपानीको अभाव वर्षौँदेखि टुलुटुलु हेर्नुपर्ने प्रमुख समस्या बनेको छ। स्थानीय बासिन्दाहरूका अनुसार हिउँदको समयमा खानेपानीका प्राकृतिक मुहानहरू सुक्ने गर्छन् भने बर्खायाममा खोलामा आउने बाढीले खानेपानीका इन्टेक तथा पाइपलाइनहरू बगाएर लैजाने गरेको छ।

विज्ञापन

दुषित पानी र पानीजन्य रोगको जोखिम लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका स्थानीय तिलक योञ्जनले बर्खाको बाढीले कुवामा बालुवा थुपार्ने र पानी पूर्ण रूपमा धमिलिने गरेको दुखेसो पोखे। “हिउँदमा कुवा सुक्छ, बर्खामा बाढी पसेर कुवाको पानी पिउनै योग्य हुँदैन,” उनले भने।

विज्ञापन

भौगोलिक विकटताका कारण अधिकांश चुरेवासीहरू अझै पनि कुवा, जरुवा र खोलाको दूषित पानी पिउन बाध्य छन्। कतिपय स्थानमा खोलामा इन्टेक राखेर पाइपमार्फत धाराहरूमा पानी वितरण गरिए पनि त्यहाँबाट अहिले धमिलो पानी मात्र आउने गरेको गुनासो छ। ईश्वरपुर नगरपालिका–१२, लामीदमारका प्रेमबहादुर बलले खोलाको दूषित पानी पिउनुपर्दा गाउँमा बारम्बार पानीजन्य सङ्क्रमण र रोग फैलिने गरेको बताए। पानीको सानो धारामा पालो पाउन झिसमिसेमै लाइन लाग्नुपर्ने र कतिपय ठाउँमा यसैका कारण झै-झगडासमेत हुने गरेको स्थानीयको भनाइ छ।

विज्ञापन

अलपत्र आयोजना र नेताहरूको दाबी विभिन्न स्थानमा सङ्घ, प्रदेश र स्थानीय सरकारले लाखौँ बजेट खर्चेर खानेपानी आयोजनाहरू सुरु गरे पनि अधिकांश आयोजनाहरू अलपत्र परेका छन्। स्थानीयले खानेपानीका नाममा आउने बजेट केवल खर्च गर्ने भाँडो मात्र बनेको आरोप लगाएका छन्।

यद्यपि, सबै ठाउँमा समान समस्या भने छैन। हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर तामाङले भने आफ्नो वडामा खानेपानीको समस्या धेरै हदसम्म हल भएको दाबी गरेका छन्। यूएनडीपी लगायतका निकायहरूको सहयोग र वडाको विशेष बजेटमार्फत चुरेका डाँडापाखा र बस्तीहरूमा मुहान खोजेर लिफ्टिङ प्रणालीमार्फत घरघरमै धारा पुर्‍याइएको उनको भनाइ छ। तामाङले आफ्नो वडामा खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको कारण अन्य चुरे क्षेत्र जस्तो सास्ती नरहेको बताएका छन्।