काठमाडौँ, २३ कात्तिक।

पाकिस्तानको रावलपिण्डीमा एक निजी टेलिभिजन च्यानलकी कार्यक्रम प्रस्तोता राबिया अहसानको आफ्नै निवासमा गोली लागेर शङ्कास्पद मृत्यु भएको छ।

रावलपिण्डीको गुलशनाबाद निवासी ४१ वर्षीया राबियालाई घाँटीमुनिको भागमा गोली लागेको थियो। घटनालगत्तै उनका पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विज्ञापन

अकास्मिक दुर्घटना कि हत्या? प्रहरी नियन्त्रणमा रहेका राबियाका पतिले पेस्तोल सफा गर्ने वा मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। बन्दुकमा गोली भरिएको (लोड भएको) कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ।

विज्ञापन

यद्यपि, मृतकका माइती पक्ष (दाजुभाइ) ले भने हत्याको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्। सोही उजुरीका आधारमा सदर बेरुनी प्रहरी चौकीमा हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले वारदातमा प्रयोग गरिएको पेस्तोल जफत गर्नुका साथै पञ्जाब फरेन्सिक साइन्स एजेन्सीको टोलीमार्फत घटनास्थलबाट आवश्यक प्रमाणहरू सङ्कलन गरेको छ। शवलाई परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाइएको छ।

विज्ञापन

घरमै घटेको दुःखद घटना रावलपिण्डीका सिटी प्रहरी अधिकारी हसन सुखेराका अनुसार घटना हुँदा राबियाका १३ र ११ वर्षीया दुई छोरीहरू घरको प्राङ्गणमा हजुरआमासँगै थिए। प्रहरीले घरमा कार्यरत कामदारसँग पनि सोधपुछ गरिरहेको छ।

विज्ञापन

राबिया आमसञ्चार क्षेत्रकी परिचित अनुहार हुन्। उनले वरिष्ठ पत्रकारद्वय आमिर मतिन र रउफ क्लासरासँग मिलेर चर्चित ‘करेन्ट अफेयर्स’ कार्यक्रमहरू सञ्चालन गरेकी थिइन्।

विज्ञापन

उच्चस्तरीय छानबिनको माग यस दुःखद घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीकी छोरी आसिफा भुट्टो जरदारीले गहिरो दुःख व्यक्त गर्दै घटनाको भर्त्सना गरेकी छन्। उनले निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन्।

आसिफाले रावलपिण्डीमा महिला हिंसा र हत्याका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले गत अगस्टमा सोही सहरमा आफ्नै घरभित्र मृत फेला परेकी ४५ वर्षीया डिजिटल मिडिया अधिकारी हिना जावेदको प्रसङ्गसमेत स्मरण गराएकी छन्।

पाकिस्तानको मानवअधिकार मन्त्रालयका अनुसार सन् २०२१ देखि २०२४ को अवधिमा मात्रै महिलाविरुद्धका हिंसासम्बन्धी १ लाख ७३ हजारभन्दा बढी उजुरीहरू दर्ता भइसकेका छन्, जसले त्यहाँ महिला सुरक्षाको गम्भीर अवस्थालाई देखाउँछ।