काठमाडौं २३ कात्तिक ।
टर्कीको अन्ताल्यामा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) को उद्घाटन सत्रमा नेपालमा भदौ १० गते आएको विनाशकारी भोटेकोसी विपद्ले विशेष प्राथमिकता पाएको छ।
विश्वभर तीव्र रूपमा भइरहेको तापक्रम वृद्धिका कारण हिमाली तथा जोखिमपूर्ण क्षेत्रका समुदायले भोग्नुपरेका भयावह परिणामलाई औँल्याउँदै सम्मेलनमा विश्वव्यापी जलवायु कार्यलाई तुरुन्तै गति दिन आह्वान गरिएको छ।
‘हिमालयमा भयावह त्रासदी’ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले नेपालको भोटेकोसी घटनाको प्रसङ्ग कोट्याएका छन्। ‘हिमालयमा एउटा भयावह त्रासदी देखिएको छ,’ स्टिलले भने, ‘यसले विश्वका हरेक कुनामा रहेका समुदायहरूले झेलिरहेको विपद्को सूचीमा अर्को अत्यन्त दुःखद अध्याय थपेको छ।’
हिमाली क्षेत्रमा विशाल चट्टान र हिउँ खस्दा उत्पन्न उक्त विपद्मा १,४५० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै झन्डै ६ हजार जना अझै बेपत्ता छन्। यस घटनाले जलवायु संकटका अगाडि हिमाली क्षेत्र कति धेरै संवेदनशील छ भन्ने कुरा उजागर गरेको छ।
यस्तै, अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले नेपालको हिमनदी दुर्घटनालाई विश्वव्यापी तापक्रम वृद्धिको प्रत्यक्ष प्रमाणका रूपमा प्रस्तुत गरे। उनले भने, ‘नेपालमा हिमनदी भत्किएर आएको विपद् होस् वा युरोपको अत्यधिक गर्मी—जलवायु परिवर्तन कुनै अनुमान वा भविष्यवाणी मात्र होइन, यो अर्बौँ मानिसले प्रत्यक्ष भोगिरहेको तीतो यथार्थ हो।’
उद्घाटन समारोहमा बिदायी मन्तव्य दिँदै कोप-३० का अध्यक्ष आन्द्रे अरान्हा कोरेआ दो लागोले नेपाललगायत अति प्रभावित देशका पीडितहरूलाई अन्तर्राष्ट्रिय समुदायले कहिल्यै बिर्सन नहुनेमा जोड दिए।
जलवायु वित्त, विद्युतीकरण र प्रमुख लक्ष्यहरू यसपटकको कोप-३१ लाई ‘कार्यान्वयनमुखी कोप’ बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। टर्कीका मन्त्री तथा कोप-३१ का अध्यक्ष कुरुमले सम्मेलनका निर्णयहरूले मानिसको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नुपर्ने बताए।
सम्मेलनमा उठाइएका प्रमुख आर्थिक तथा प्राविधिक विषयहरू:
-
वित्तीय प्रतिबद्धता: सन् २०३५ सम्ममा वार्षिक कम्तीमा ३ खर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने र त्यसलाई विस्तार गर्दै १३ खर्ब डलर पुर्याउने प्रतिबद्धता कार्यान्वयन गर्ने।
-
विद्युतीकरण प्लेज (३५ बाई ३५): सन् २०३५ सम्ममा विश्वको अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने लक्ष्यका साथ ‘३५ बाई ३५ ग्लोबल इलेक्ट्रिफिकेसन प्लेज’ अघि सारिएको छ।
-
क्लाइमेट इम्प्लिमेन्टेसन ब्रिज: प्रविधि र लगानी चाहिने साना तथा अति कम विकसित देशहरूलाई स्रोत भएका लगानीकर्तासँग जोड्न नयाँ संयन्त्र सञ्चालन गरिने।
नेपाल पेभिलियनको उद्घाटन नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने यस सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी छ। परराष्ट्रमन्त्री खनालले सोमबार सम्मेलनस्थलमा ‘नेपाल पेभिलियन’ को औपचारिक उद्घाटन गर्नुभएको छ। सम्मेलनमा नेपालका विभिन्न राजनीतिक दलका १४ जना सांसदहरूको समेत सहभागिता रहेको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।