काठमाडौँ २३ कात्तिक ।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज (कार्तिक शुक्ल प्रतिपदा) का दिन गाईको निष्ठापूर्वक पूजाआराधना गरी मीठा खानेकुरा खान दिएर मनाइँदै छ। वैदिक सनातन कालदेखि नै गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरको रूपमा सम्मान गर्ने परम्परा रहिआएको छ।
आमाले खुवाएको दूधजत्तिकै पौष्टिक र गुणकारी दूध प्रदान गर्ने भएकाले गाईलाई ‘गौमाता’ भनी पुजिन्छ। विज्ञानले समेत स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट विशेष ऊर्जा ग्रहण गरी दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई शक्ति प्रदान गर्ने प्रमाणित गरेको छ। धार्मिक विश्वासअनुसार आजको दिन गाईको पूजा गरी मीठा परिकार ख्वाउँदा गाईबाट प्राप्त हुने शुद्धता र सकारात्मक ऊर्जा सधैँ प्राप्त भइरहन्छ।
धार्मिक मान्यता र शास्त्रीय विधि नेपालका केही स्थान र समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने प्रचलन रहे पनि, धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय मान्यताअनुसार औँसीको समाप्ति र प्रतिपदाको सुरुवातमा गाईको पूजा गर्नु उत्तम मानिन्छ। हिन्दू धर्मावलम्बीहरूले गर्ने हरेक धार्मिक कर्म र संस्कारमा गाई दान गर्ने महत्त्वपूर्ण विधि छ। यद्यपि, वर्तमान समयमा गाईको उपलब्धता कम हुँदा कतिपय ठाउँमा गोदानको संकल्प गरेर विकल्पस्वरूप दक्षिणा राख्ने चलन बढेको छ। राष्ट्रिय जनावरको रूपमा सम्मानित गाईलाई हिन्दू संस्कृतिमा अत्यन्त उच्च स्थान दिइएको छ।
साथै, आजैका दिन साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ। यसरी गाईको पुच्छरमा रक्षाबन्धन बाँधिदिएमा मरणोपरान्त वैतरणी नदी पार गरी स्वर्ग जान सहज हुने जनविश्वास लामो समयदेखि रहिआएको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।