बारा, २३ कात्तिक ।
बाराको कलैयामा स्वर्गीय युवा नेता सुजित पाण्डेको सम्झना र सम्मानमा ‘सुजित मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
“खेलकुदले जोड्छ, युवाले बदलछ कलैया-१४” भन्ने मुख्य नाराका साथ आयोजित यस प्रतियोगिताको कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ।
आयोजक ‘यूथ अफ कलैया-१४ खेलकुद व्यवस्थापन समिति’का अध्यक्ष रमेश ठाकुरका अनुसार, समाजका विकृति र बेथितिविरुद्ध निरन्तर आवाज उठाउँदै युवाहरूलाई सही नेतृत्व प्रदान गर्ने होनहार व्यक्तित्व स्वर्गीय सुजित पाण्डेको योगदानलाई चिरस्थायी बनाउन प्रतियोगिता आयोजना गरिएको हो। उद्घाटन खेलमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ र वडा नम्बर ७ का टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ।
८ टिमको सहभागिता र खेल तालिका कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौरा टोलस्थित खेल मैदानमा भइरहेको यस प्रतियोगितामा कुल ८ वटा टिमले प्रतिस्पर्धा गरेका छन्। सहभागी टोलीहरूलाई समूह ‘क’ र समूह ‘ख’ गरी चार-चारवटा टिममा विभाजन गरिएको छ। समूह चरणअन्तर्गत दैनिक दुईवटा खेलहरू सञ्चालन हुनेछन् भने सेमिफाइनल र फाइनल चरणका रोमाञ्चक खेलहरू भने एक दिनमा एउटा मात्र हुने गरी फरक-फरक दिन खेलाइनेछन्।
आकर्षक पुरस्कारको व्यवस्था युवाहरूमा खेलकुदप्रति उत्साह जगाउन र स्थानीय स्तरका छिपाएका प्रतिभाहरू बाहिर ल्याउन आयोजित यस प्रतियोगिताका विजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यसैगरी, उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ।
व्यक्तिगत विधातर्फ ‘म्यान अफ द टुनामेन्ट’ ले नगद २ हजार ५ सय रुपैयाँसहित आकर्षक ट्रफी, विशेष मेडल र उपहार प्राप्त गर्नेछन्। साथै, प्रत्येक खेलका ‘म्यान अफ द म्याच’, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ। स्थानीय प्रतिभालाई प्रोत्साहित गर्न सम्पूर्ण खेलप्रेमी तथा नगरवासीहरूलाई खेल मैदानमा उपस्थित भई हौसला प्रदान गर्न आयोजकले हार्दिक अनुरोध गरेको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।