काठमाडौं २२ कात्तिक ।
यस वर्षको लक्ष्मीपूजाका दिन आइतबार साँझ विद्युत्को अधिकतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार साँझ ६:१५ बजे राष्ट्रिय विद्युत् प्रणालीमा यो उच्च माग दर्ज भएको हो।
उक्त पिक समयमा देशभित्र कुल २ हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भएको थियो। आन्तरिक माग पूरा गरी फाजिल रहेको ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ। गत वर्षको लक्ष्मीपूजाको तुलनामा यस वर्ष विद्युत् माग ६८ मेगावाटले बढेको छ। गत वर्ष १ हजार ७४५ मेगावाट खपत भएको थियो।
उत्पादनको संरचना:
-
निजी क्षेत्रका आयोजना: १,५३६.५० मेगावाट
-
प्राधिकरणका सहायक कम्पनी: ४९९.२० मेगावाट
-
प्राधिकरणका आरओआर/पीआरओआर आयोजना: ३४२.३० मेगावाट
-
प्राधिकरणका जलाशय (स्टोरेज) आयोजना: २२.३० मेगावाट
यस वर्षको लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५० मेगावाट पुगेको छ। पूजाका समयमा प्रणालीमा कुनै प्राविधिक अवरोध (पावर इन्टरप्सन) नआएको र फ्रिक्वेन्सी ५०.१२० हर्जमा स्थिर रहेको प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादन क्षमता वृद्धि भएसँगै चाडपर्वका बेला पनि घरेलु माग धानेर विद्युत् निर्यात गर्ने अवस्था बनेको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।