काठमाडौँ २२ कात्तिक ।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी लक्ष्मीपूजाको बिदाका दिन नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय पुगी आफूविरुद्ध परेको उजुरीमा सहमति गरेर फर्किएका छन्।
सामाजिक सञ्जालमा लेखिएका टिप्पणीलाई लिएर पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा साइबर ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। आइतबार दिउँसो ब्युरो पुगेका शिवाकोटी र उजुरीकर्ता खड्काबीच आगामी दिनमा सामाजिक सञ्जालमा अप्रमाणित विषयवस्तु सम्प्रेषण नगर्ने समझदारी बनेपछि विवाद निरूपण भएको हो। भविष्यमा पुनः अप्रमाणित सामग्री पोस्ट गरिएमा साइबर ब्युरोले जुनसुकै बेला ताकेता गर्न सक्ने सर्तमा सहमति गराइएको छ।
ब्युरो प्रवेश गर्दा शिवाकोटीले कानुन व्यवसायीलाई साथमै लैजान खोजे पनि प्रहरीले उजुरी परेका दुई पक्षलाई मात्र राखेर छलफल गराउने भन्दै कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको थियो।
प्रतिपक्षी दलका नेताका रूपमा सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै आएका शिवाकोटीले सामाजिक सञ्जालमा पत्रकार खड्काको प्रसङ्ग उल्लेख गर्दै टिप्पणी गरेका थिए। सरकारले विधि विधान मिचेको र कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको आरोप लगाउँदै आएका शिवाकोटीलाई यसअघि भारतमा धार्मिक यात्रामा रहेका बेला पनि साइबर ब्युरोले खोजेको थियो। खबर पाएलगत्तै बिहीबार काठमाडौँ फर्किएका उनी चाडबाडका बीच लक्ष्मीपूजाको दिन प्रहरीले बोलाएपछि स्वयं ब्युरो उपस्थित भएका हुन्।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।